July 2, 2025

किसान मारा बजेट ! उखुमा पाइरहेको क्विन्टलको ७० रुपैयाँ अनुदान रोकियो

काठमाडौं । उखु खेतीमा कृषकलाई प्रोत्साहन गर्न ७ वर्षदेखि दिइँदै आएको अनुदान रकम अगामी आर्थिक वर्षको बजेटमा कटौती गरिएपछि किसान पलायन हुने जोखिम बढेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १५ जेठमा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखु किसानलाई दिइँदै आएको अनुदान रकम नसमेटिएपछि उखुु खेतीबाट किसान पलायन हुने जोखिम बढेको हो ।

चालु आव २०८१/८२ को बजेटमा उखु खेती प्रवद्र्धनका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । तर, आगामी आवको बजेटमा यसबारे कतै उल्लेख नभएपछि किसान थप चिन्तितमात्र छैनन्, उखु खेतीबाटै पलायन हुने जोखिम बढेको हो ।

सरकारले कार्यविधि नै निर्माण गरेर २०७५ सालदेखि उत्पादनका आधारमा किसानलाई अनुदान रकम दिँदै आएको थियो । सरकारले प्रतिक्विन्टल उखुमा ७० रुपैयाँ अनुदान दिने गर्छ ।

सरकारले दिने अनुदान रकम कटौती हुने भएपछि उत्पादन लागत नउठ्ने भन्दै किसान थप चिन्तित बनेका छन् ।

२८ जेठमा उखु उत्पादक संघसम्बद्ध जिल्लाका एक दर्जन प्रतिनिधि चालु आवमा सिर्जित दायित्व डेढ अर्ब बढी रकम निकासा गरिदिन भन्दै अर्थमन्त्री पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी र उद्योगमन्त्री दामोदर भण्डारीलाई भेट्न पुगेका थिए ।

तर, मन्त्रीहरूले भने ‘पैसा दिन नसकिने’ भनेर जवाफ फर्काएको उखु उत्पादक संघ सर्लाहीका उपाध्यक्ष श्यामबाबु रायले जानकारी दिए ।

‘हामीले काठमाडौं पुगेर कृषिमन्त्री, उद्योगमन्त्री र अर्थमन्त्री भेट्यौं, प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र पनि पठाएका छौं,’ रायले अनलाइनखबरसँग भने, ‘त्यस क्रममा अर्थमन्त्रीज्यूले सरकारसँग पैसा नै छैन, कहाँबाट दिने भन्नुभयो ।’

उनका अनुसार भेटका क्रममा मन्त्रीहरूले ‘उखु खेतीमा अनुदान दिन नसकिने भएकाले बरु धान, मकै, गहुँ लगायत अन्य खेतीतिर लाग्नू’ भन्ने सुझाव दिएका थिए ।

‘उहाँहरूले उखु खेती छाडिदिनुस्, बरु धान, मकै खेतीतिर लाग्नुस् भन्नुभयो,’ मन्त्रीहरूको भनाइ उद्धृत गर्दै रायले भने, ‘चिनी त नखाइ पनि बाँच्न सकिन्छ, तर धान, मकै नभई हुन्न भन्नुभयो ।’

उपाध्यक्ष रायले उखु उत्पादनमा हुने नाफा नै सरकारले दिँदै आएको ७० रुपैयाँ अनुदान रकम रहेको र उक्त रकम नै कट्टा भएपछि उत्पादन लागत नउठ्ने हुँदा खेती नै नगर्ने मनस्थितिमा पुगेको बताए ।

‘म अब उखु खेती छाड्छु, लागत नै नउठ्ने भएपछि किन दुःख मात्रै गरिरहनु ?,’ उनी भन्छन्, ‘म मात्रै होइन, अरू किसान पनि छाड्छन् । हामीलाई फाइदा हुने नै त्यही ७० रुपैयाँ थियो । त्यो पनि कटौती भएपछि किन खेती गर्नु ?’

राय आफैंले अहिले १२ बिघा क्षेत्रफलमा उखु खेती गरेका छन् । अर्को वर्षदेखि उखुको विकल्प खोज्ने उनको भनाइ छ ।

भुक्तानीमा वर्षैपिच्छे झेल्नुपरेको समस्याका कारण किसानको उखु खेतीप्रतिको आकर्षण घट्दै गइरहेको छ । उखुमा मात्रै निर्भर किसान पछिल्लो समय फलफूल, धान, मकै, गहुँ, मुसुरो, तोरी लगायत खेतीमा आकर्षित हुन थालेका छन् ।

‘पोहोर साल पनि सरकारले किसानलाई दिने अनुदानमा सर्लाही जिल्लाको मात्रै अधुरो पैसा निकासा गरेको थियो,’ किसान रायले भने, ‘३–४ दिन आन्दोलन गरेपछि बल्ल बाँकी रहेको पैसा निकासा भयो । आन्दोलन नगरी कहिल्यै पैसा निकासा हुँदैन । खेतीमा कसरी आकर्षण बढ्छ त ?’

जन मेडिया