
पोखरा । गण्डकी प्रदेशमा हरेक वर्ष गर्भवती र सुत्केरीको सङ्ख्यात्मक खाडल बढ्दै गएको छ । हजारौँ गर्भवती महिला सुत्केरी नहुँदै हराउने गरेको तथ्याङ्क स्वास्थ्य निर्देशनालयमा छ ।
गर्भवतीको सङ्ख्या र सुत्केरीको सङ्ख्यामा झन्डै आधा फरक परेपछि त्यसमा लिंग पहिचानपछिको भ्रूणहत्या हुन सक्ने आकलन गरिएको छ । प्रदेशमा वार्षिक करिब ३५ हजार गर्भवती हुन्छन्, तर सुत्केरी हुनेको सङ्ख्या त्यसको आधा मात्रै छ । आर्थिक वर्ष २०८१/८२ मा ३५ हजार ३ सय ३४ महिला गर्भवती भएकोमा १६ हजार ८ सय ३९ जना मात्र सुत्केरी भएका स्वास्थ्य निर्देशक खीमबहादुर खड्काले जानकारी दिए ।
बाँकी १८ हजार ४ सय ९५ जना कहाँ गए भन्ने कुनै तथ्याङ्क सरकारसँग छैन । यस्तै आर्थिक वर्ष २०८०/८१ मा ४० हजार ९ सय ८३ गर्भवतीमध्ये २१ हजार १६४ जनाले मात्र शिशुलाई जन्म दिए । त्यो वर्ष पनि १९ हजार ८ सय १९ जना गर्भवतीले बच्चा जन्माएनन् । ‘केही गर्भवती घरमै सुत्केरी भएर तथ्याङ्कमा नसमेटिएको हुन सक्छ, तर यति ठुलो सङ्ख्या हराउनुको मुख्य कारण लिंग पहिचानपछिको गर्भपतन नै हो,’ निर्देशक खड्काले भने ।
लिंग पहिचान गरी गरिने भ्रूणहत्याले प्रदेशको जनसङ्ख्यामा प्रत्यक्ष असर पारेको जानकारहरू बताउँछन् । केही समयअघि गण्डकीका ७३ स्थानीय तहमा गरिएको एक सर्वेक्षणले ५ वर्षमुनिको जनसङ्ख्यामा ४५ हजार छोरा हुँदा छोरीको सङ्ख्या केवल ३९ हजार रहेको देखाएको छ । ‘यो ६ हजारको अन्तरले स्पष्ट पार्छ कि छोरीहरूलाई जन्मन नै दिइएको छैन,’ खड्काले भने, ‘यसले भविष्यमा गम्भीर सामाजिक र लैंगिक सङ्कट निम्त्याउनेछ ।’
कानुनले हाडनाता करणी, बलात्कार वा आमा र शिशुको स्वास्थ्यमा गम्भीर असर पर्ने अवस्थामा मात्र सुरक्षित गर्भपतनको अधिकार दिएको छ । तर, गण्डकीमा यो अधिकारको चरम दुरुपयोग भइरहेको छ । ९ हप्तासम्मको गर्भ औषधि सेवनबाट र १२ हप्तासम्मको गर्भऔजार प्रयोग गरेर फाल्न सकिन्छ । तर प्रदेशका निजी स्वास्थ्य संस्था र औषधि पसलहरूमा यसको कुनै प्रभावकारी अनुगमन छैन, जसले गर्दा अवैध गर्भपतन र लिंग पहिचान पैसा कमाउने धन्दा बनेको कर्मचारीहरू नै बताउँछन् ।
तथापि हराएका सबै गर्भवतीले गर्भपतन गरेको भन्न नमिल्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख डा. डेला सिंह बताउँछिन् । उनका अनुसार केही महिला प्रदेशबाहिर सुत्केरी हुने वा निजीमा गएर सरकारी तथ्याङ्कमा नआउने पनि हुन सक्छन् । तैपनि लुकीछिपी हुने अवैध गर्भपतन नियन्त्रण गर्न र यसले महिलाको प्रजनन स्वास्थ्यमा पार्ने गम्भीर असरबारे जनचेतना फैलाउनु जरुरी रहेको उनले सुनाइन् ।
११ प्रतिशत गर्भवती २० वर्षमुनिका
गण्डकीलाई बर्सेनि कम्तीमा ४१ हजार जना गर्भवती हुनुपर्ने केन्द्रीय लक्ष्य छ । तर ३५ हजार हाराहारीमा मात्रै गर्भवती हुने गरेका छन् । सुत्केरी आधाजति मात्रै हुन्छन् । गत वर्ष प्रदेशका स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउन आएकामध्ये ३ हजार ९ सय ६६ जना २० वर्षमुनिका थिए । अर्थात् कुल सङ्ख्याको ११.२२ प्रतिशत । सोही वर्ष गण्डकीमा ३५ हजार ३ सय ३४ जना गर्भवतीले पहिलो जाँच स्वास्थ्य संस्थामा गराएका थिए । सबै गर्भवतीमध्ये २० हजार ३४ जनाले आठौँ पटक गर्भ जाँच गरेका थिए ।
त्यसअघिको वर्ष २०८०/८१ मा पनि २० वर्षमुनिका गर्भवती झनै धेरै रहेको देखाएको छ । प्रतिशतका हिसाबले लगभग ११ प्रतिशत नै भए पनि संख्याका हिसाबले निकै धेरै देखिन्छ । उक्त वर्ष ४० हजार ९ सय ८३ गर्भवती भएकामध्ये ४ हजार ४ सय ५५ जना २० वर्षमुनिका थिए । प्रतिशतमा हिसाब गर्दा करिब ११ प्रतिशत हुन आउँछ । ३३ हजार ९ सय १ जनाले आठौँ पटक गर्भ जाँच गरेका थिए । लिंग पहिचानपछि भ्रूणहत्या नै यसको प्रमुख कारण हुन सक्ने विज्ञहरू बताउँछन् ।
जन मेडिया

थप सामाग्री
अख्तियार प्रमुखविरुद्ध नै अख्तियारमा उजुरी दर्ता
सिंहदरबारभित्रबाटै हरायो श्रम मन्त्रालयको गाडी
गगनले अख्तियार लगाइदिएको मोहन बस्नेतको आरोप