July 4, 2025

चार महिनादेखि बेहोस पविताको गयो ज्यान, अलपत्र थिइन अस्पतालको शैयमा

जनकपुरधाम । पित्त थैलीको शल्यक्रियापछि साढे चार महिनादेखि बेहोस २५ वर्षीया पविता यादवको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंको केएमसी अस्पतालमा आज बिहान ७ बजे मृत्यु भएको हो ।

सर्लाहीको हरिपुर्वा नगरपालिका ५ की पविता यादवको गत माघ ३ गते जनकपुरधाम–१४ पिडारीचोकमा दर्ताविना सन्चालित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया भएको थियो । त्यसयता उनी बेहोस् थिइन् । केही दिन जनकपुरमै उपचार गराएपछि सुविधासम्पन्न अस्पतालमा उपचार गराउन भन्दै साढे तीन महिनाअघि काठमाडौं ल्याएर केएमसीमा भर्ना गरिएको थियो ।

अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी हबलदार बेदनाथ पौडेलले बताए । उनले भने, ‘पविताको आज बिहान ७ बजे मृत्यु भएको जानकारी अस्पतालले हामीलाई गराएको छ । शवलाई फ्रिजमा राखिएको छ र परिवारका सदस्यलाई बोलाएर शव व्यवस्थापनमा समन्वय गर्न भनिएको छ ।’

उनले आज बिहान पविताका पति अंगेशलाई फोन गरेर अस्पतालमा आउन भनेको पनि बताए ।

कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च व्यहोर्न नसकेपछि पविताका पित अंगेश घर फर्किएका थिए । एक महिनादेखि पविताको कुरुवा समेत अस्पतालमा थिएनन् ।

कुरुवा नभएपछि अस्पतालले पटक पटक फोन गरी अंगेशलाई आउन ताकेता गरेको थियो । तर नगएपछि अस्पतालले गत जेठ १४ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पत्राचार गरी पति अंगेशलाई उपस्थित गराइदिन भनेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतको प्रहरी चौकी हरिपुर्वाले सो पत्रबारे जानकारी गराउँदै अस्पताल जान अंगेशलाई भनेको थियो ।

पति अंगेशले शव बुझ्न आउन भनेर प्रहरीले फोन गरेको बताए । ‘आज बिहान प्रहरीले फोन गरेर शव बुझ्न आउन भन्नुभयो,’ अंगेशले  भने, ‘मसँग त काठमाडौं जाने गाडी भाडा पनि छैन । अस्पतालको अहिलेसम्मको लाखौं उपचार खर्च कसरी तिर्ने ? शव कसरी ल्याउने ?’

पविताका बुबा ब्रह्मदेव यादवकाअनुसार सूर्या अल्ट्रा साउण्डका सञ्चालक सुशील यादवले मुस्कान अस्पतालमा शल्यक्रिया गराउन बाध्य पारेका थिए । सरकारी जागिरे हेल्थ असिस्टेन्ट कमल राइन अफू सल्लाहकार र श्रीमतीलाई संचालक राखेर सम्बन्धित निकायबाट स्वीकृति नै नलिइ खोलेको मुस्कान अस्पतालमा सर्जन डा. ज्ञानकुमार साहले पिक्त थैलीको शल्यत्रिया गरेका थिए ।

तीनदिनसम्म होस नआउँदा डा. साहले स्नायुको समस्या भन्दै सिटीस्क्यान गराउन सल्लाह दिएका थिए । सिटी स्क्यान गराएर ल्याउँदा सो सम्बन्धी डाक्टर नरहेकाले अन्य अस्पतालमा लैजान भनेपछि पवितालाई माघ ६ गते जनकपुरको जानकी हेल्थकेयरमा लगेका थिए । त्यहाँबाट माघ २९ गते काठमाडौंको केएमसीमा लगेर भर्ना गरिएको थियो । अंगेशका अनुसार अहिलेसम्म केएमसीमा उपचारमा लागेको खर्च, फार्मेसी, खानेकुरा लगायत सबै खर्च तिर्न बाँकी छ ।

पविताको अवस्था सार्वजनिक गरेपछि मधेशका मुख्यमन्त्री शतिशकुमार सिंहले अस्पतालमा छड्के अनुगमन गरेका थिए । सो क्रममा अस्पताल दर्ताविना सञ्चालन भएको पाइएको भन्दै माघ २३ गतेदेखि बन्द गराएका थिए । साथै पविताको उपचारमा लागे सम्पूर्ण खर्च तिर्न मुस्कान अस्पताल सञ्चालकलाई निर्देशन दिएका थिए । तर अहिलेसम्म एक लाखमात्र तिरेर सञ्चालक सम्पर्कविहीन भएको पविताका पति अंगेश बताउँछन् ।

गत जेठ १ गते जिल्ला प्रहरी कार्यालय धनुषामा पविताका बुबा ब्रह्मदेव यादवले मुस्कान अस्पताल सञ्चालकसहित पाँचजना विरुद्ध जाहेरी दिएका थिए ।

जाहेरीमा अस्पताल र सञ्चालकबाहेक पिक्त थैलीको शल्यत्रिया गरेका चिकित्सक डा. ज्ञानकुमार साह, उपचारमा संलग्न एनेसथेसिया र पवितालाई शल्यक्रिया गर्न अस्पताल जान सल्लाह दिने सूर्या अल्ट्रा साउण्डका सञ्चालक सुशील यादवलाई प्रतिवादी बनाइएको छ । तर अहिलेसम्म कुनै कारबाही भएको छैन ।

जन मेडिया