July 3, 2025

पोर्चुगलमा नेपालीहरूको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणमा कठिनाइ

पोर्चुगल । पोर्चुगलमा रहेका नेपालीले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) प्रमाणीकरणमा सास्ती पाइरहेका छन् । पोर्चुगिज सरकारले उक्त सेवाका लागि दुई स्थान तोके पनि एउटा कार्यालयबाट मात्रै नियमित सेवा सञ्चालन हुँदा सेवाग्राहीले सास्ती पाएका हुन् ।

पोर्चुगिज सरकारको परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागबाट पुलिस रिपोर्ट प्रमाणीकरण गर्नुपर्ने हुन्छ । त्यसका लागि अलकन्त्रा र पोर्तोमा कार्यालय रहेको छ ।

राजधानी लिस्बन स्थित अलकन्त्रा कार्यालयले पुलिस रिपोर्टको प्रमाणीकरण नियमित गरेको छैन । पोर्तो पुग्न राजधानी लिस्बनबाट रेलबाट तीन घण्टा भन्दा बढी समय लाग्छ ।

आप्रवासी तथा पोर्चुगिज नागरिकहरूलाई कन्सुलर सेवा दिने कार्यालय दुई वटा मात्रै भएकोले भिड लाग्ने गरेको छ । त्यसैले अघिल्लो रातिदेखिनै नेपालीहरू कन्सुलर कार्यालय अगाडि लाइन बस्ने गरेका छन् ।

दैनिक डेढ सय जनाको हाराहारीमा मात्रै काम हुने भएकोले रातिदेखि नै लाइनमा बसेर बिहान सेवा लिन लागेको पोर्तो कन्सुलर कार्यालय अगाडि लाइनमा रहेकी एक नेपालीले सुनाइन् । उनी भुईंमा ओछ्याउने कागज र ओढ्ने ब्याल्ङ्केट सहित बिहीबार रातिदेखि नै लाइनमा बसेकी थिइन् ।

उनी पोर्चुगलमा अस्थायी आवास कार्ड प्राप्त गर्नका लागि आवश्यक पर्ने नेपालको पुलिस रिपोर्ट प्रमाणीकरण गर्न पोर्तो गएकी हुन् । आउने मंगलबारसम्ममा उक्त कागज प्रमाणित गरेर पेस गर्नुपर्ने भएकोले उनले यो सास्ती उठाएको बताइन् ।

उनीसंगै बस्दै आएकी अर्का साथी लिस्बनको अलकान्त्रा स्थित कन्सुलर कार्यालयमा पुगिन् । ‘कहिले काम भएको पनि सुनेको र फेसबुकहरूमा पोष्ट देखेर नजिकै ट्राइ गरुँ भनेर अलकन्त्रा आएको मेरो काम भएन,’ उनले भनिन् ।

उनीहरू जस्ता अधिकांश नेपालीले अहिले कागजात प्रमाणीकरण गर्न झन्झट बेहोरिरहेका छन् । दैनिक सयौंको संख्यामा सेवा लिन पुग्ने सेवाग्राहीका कारण यहाँको कन्सुलर विभागले सेवा दिन सकिरहेको छैन ।

नेपालमा वडा कार्यालयमा तयार हुने कागजात सम्बन्धित पालिका कार्यालय, परराष्ट्र मन्त्रालयको कन्सुलर विभाग र लिस्बन वा अन्य मुलुकमा रहेको दूतावासमा गरी तीन वटा कार्यालयमा सहिछाप गरेर पोर्चुगिज वकिल मार्फत् पोर्चुगिज भाषामा उल्था गरेपछि मात्रै पोर्चुगल सरकारको कन्सुलर विभागमा प्रमाणीकरणको लागि योग्य हुन्छ ।

जन मेडिया