विराटनगर । काठमाडौंमा राजावादी आन्दोलन चलिरहँदा पूर्वराजारानी भने काठमाडौंमा छैनन । राजसंस्था पुनर्स्थापनाका लागि गत जेठ १५ गतेदेखि काठमाडौंमा राजावादी गठबन्धनले आन्दोलन गरिरहेको छ । दिनहुँ धर्ना–जुलुसहरू भइराखेका छन् ।
उनीहरू आन्दोलन छल्दै झापामा सुस्ताइरहेका छन् । आन्दोलन सुरु हुनुभन्दा ४ दिन अघिबाट उनीहरू झापा आएका हुन् । पूर्वराजारानीसँग भतिजी शिताष्मा पनि छिन् । झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानमा उनीहरूको बास छ । उनीहरू दुई साताका लागि दमक आएको श्रोतले बतायो ।
हिमालय महालक्ष्मी चिया बगान पूर्व राजा ज्ञानेन्द्रको आफ्नै चिया बगान हो । पूर्व–पश्चिम सडक खण्डसँगै दमक बजारको पश्चिमी क्षेत्रमा पर्ने चिया बगानमा उनी बेला–बेला आएर बस्ने गरेका छन् ।
खासगरी जाडोको समयमा र चिया टिप्ने समयमा उनी नियमित रूपमा यहाँ बस्ने गर्छन् । अहिले पनि चिया टिप्ने समय हो ।
यो उनको नियमित भ्रमण रहेको पूर्वराजा आएका बेला भेट्न जानेहरू बताउँछन् ।
पूर्वराजा दमक आएका बेला राजावादीहरूसँग भेटघाट र छलफल गर्ने कार्यसूची हुने गरेको राजाको प्रत्यक्ष शासनकालमा पूर्वाञ्चल क्षेत्रीय प्रशासक भएका वल्लभ दाहालले बताए ।
उनले भने, ‘सरकार दमकमा सवारी हुँदा भेट्न चाहनेहरूलाई दर्शन भेट दिइबक्सन्छ । यो नियमित प्रक्रिया हो । हामीले दर्शनभेटका लागि काठमाडौं जान खोज्दा ‘पर्दैन, त्यतै आउँदा भेट हुन्छ’ भनिबक्सन्छ । यस्तो धेरैलाई भनिएको हुन्छ ।’
जेठको ११ गते दमकमा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक पनि राजावादीहरुसँग भेटघाट गरिरहेका छन् । उनलाई भेट्न पूर्वका विभिन्न स्थानबाट राजावादीहरू पुग्ने गरेका छन् ।
पूर्वराजासँगको भेटघाटको संयोजन उनका निजी सचिव राजेश्वरबहादुर सिंहले गरिरहेका छन् । उनी पनि पूर्वराजासँग दमकमै छन् । यसअघि दमक नगरपालिकाका मेयर तथा राप्रपाका नेता राम थापाले पनि पूर्व राजा ज्ञानेन्द्र शाह दमक आएका बेला भेटघाटको समय मिलाउने गरेका थिए । यसपटक भने उनी चीन भ्रमणमा रहेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रका प्रमुख सचिव सागरप्रसाद तिम्सिनाले यो पारिवारिक भ्रमण भएको बताए । उनले भने, ‘यो मौसुफ सरकारको निजी र पारिवारिक भ्रमण हो । औपचारिक नभएकाले भ्रमणको कार्यसूची पनि छैन ।’
गएको चैत्र १५ गते काठमाडौंमा राजावादीहरूले हिंसात्मक आन्दोलन गरे । कमान्डरको रूपमा नवराज सुवेदीलाई तोकिए पनि नेतृत्व भने झापाकै व्यवसायी दुर्गा प्रसाईँले गरेका थिए । सो आन्दोलन एक जना पत्रकारको घरभित्र जलेर मृत्यु भएको थियो भने एक सर्वसाधारणको प्रहरीले गोली लागेर ज्यान गएको थियो ।
आन्दोलनका क्रममा घर पसलहरूमा आगजनी र तोडफोड भए । सो आन्दोलनको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने भनेर प्रधानमन्त्रीले संसदमै बोले । केही गणतन्त्रवादी नेताहरूले उनलाई पक्राउ गर्नुपर्ने समेत बताए ।
काठमाडौंका मेयर बालेन शाहले पूर्वराजालाई समेत पत्र काट्दै जरिवाना समेत तोकेका थिए । यसरी प्रत्यक्षरुपमा आफूलाई मुछिएपछि पूर्वराजा असन्तुष्ट छन् । अहिले राजावादीको आन्दोलनमा पनि आफूलाई त्यसैगरी जोडिन सक्ने हुँदा उनी काठमाडौंबाट बाहिरिएको स्रोतहरूको दाबी छ ।
आफू झापामा बसेपछि काठमाडौंमा भएको आन्दोलनमा केही गडबडी भयो भने पनि आरोप नलाग्ने उनको विश्वास छ । त्यसो त उनले आन्दोलनकारी नेताहरूलाई काठमाडौंमा बारम्बार भेटेर आन्दोलनलाई मर्यादित बनाउन आग्रह गरेका थिए ।
प्रहरीलाई ‘थाहा छैन’
पूर्वराजा दमक आउँदा गृह मन्त्रालयले जानकारी गराउने प्रचलन नभएको झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुले बताए । अनौपचारिक रूपमा भने जानकारी रहेको उनको भनाइ छ ।
लिम्बुले भने, ‘उहाँको सुरक्षा हेर्ने छुट्टै संयन्त्र छ । सोही संयन्त्रले सुरक्षा व्यवस्था मिलाउँछ । हामीसँग कुनै समन्वय हुँदैन । समन्वय नभएका कारण प्रहरीलाई कुनै औपचारिक जानकारी हुने कुरा भएन ।’
जन मेडिया



थप सामाग्री
अख्तियार प्रमुखविरुद्ध नै अख्तियारमा उजुरी दर्ता
गण्डकीमा ३५ हजार गर्भवती हुँदा आधाभन्दा कमले जन्माउँछन् बच्चा
सिंहदरबारभित्रबाटै हरायो श्रम मन्त्रालयको गाडी