![](https://ejanamedia.com/wp-content/uploads/2024/04/yarsha.png)
बैशाख १४, मनाङ। हिमाली जिल्ला मनाङमा यार्सा संकलन सुरु भएको छ । मनाङको नाम्ग्ये खर्कबाट यार्सा संकलन सुरु गरिएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट संकलन थालिएको छ ।
यही वैशाख १० गतेदेखि नाम्ग्ये खर्कबाट करिब दुई सय जना यार्सागुम्बा संकलनको अनुमति लिएर खर्कतर्फ लागेका छन् । संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले यार्सा पाइने नजिकको खर्कबाट वैशाख १० गतेबाट संकलन सुरु गरिएको बताए ।
![](https://ejanamedia.com/wp-content/uploads/2024/04/banner-ads.jpg)
उनका अनुसार मनाङमा यार्सागुम्बा संकलन थालिने पहिलो गन्तव्य नाम्के खर्क हो । खर्कबाट यार्सागुम्बा संकलन गर्न अनुमति दिने निर्णय बमोजिम संकलकलाई अनुमति दिइएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जिल्लाभित्र यार्सागुम्बा संकलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए । यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले स्वीकृति दिएपछि मनाङबासीसँगै गोरखा, लमजुङका स्थानिय पनि यार्सागुम्बा संकलन गर्न मनाङको लेकमा पुगेका छन् ।
![](https://ejanamedia.com/wp-content/uploads/2024/04/bigyapan.gif)