November 21, 2025

आज गणतन्त्र दिवस, शुभकामना सन्देशमा कस्ले के भने ?

गणतन्त्र दिवस, २०८२ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगाएतले आज शुभकामना दिँएका छन् ।

गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक चरित्र र शासकीय शैली परिवर्तन आवश्यक- राष्ट्रपति पौडेल

गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना दिँदैराष्ट्रपति पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि शासकीय चरित्रलाई बदल्नुपर्ने बताएका हुन् ।

यस्तै, शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । सन्देशमा उनले भनेका छन्, ‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।’

लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । ‘जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन’, उनको भनाइ छ, ‘नागरिकले सुशासनसहितको समृद्धि, रोजगारी, अवसर र स्रोतसाधनको न्यायोचित वितरण र सामाजिक न्यायको प्रबन्ध खोजेका छन् । आर्थिक विकासबिना यी केही पनि सम्भव नभएकाले सबै गम्भीर भएर लाग्नुपर्छ ।’

शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज- प्रधानमन्त्री केपी शर्मा ओली

“शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन”, प्रधानमन्त्री केपी शर्माओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल ।”

गणतन्त्रात्मक शासन प्रणालीबाट मात्रै समृद्धि हासिल गर्न सकिन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् ।

आज गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् ।

सभापति देउवाले समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुँदै दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससमेत व्यक्त गरे ।

उनले लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने सबैमा उच्च सम्मान प्रकट गरेका छन् । ‘नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको स्थापना तथा पुनःस्थापना, लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि हरेक लोकतान्त्रिक आन्दोलनमा सहभागी थुप्रै सन्ततिले अमूल्य जीवन उत्सर्ग गरेका छन्’, सभापति देउवाले अगाडि उल्लेख गरेका छन्, ‘तिनै ज्ञात–अज्ञात वीर सहिदप्रति गणतन्त्र दिवसका अवसरमा उहाँहरूको गौरवपूर्ण योगदान, अदम्य साहस, समर्पण र बलिदानको स्मरण गर्दै उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दछु ।’

गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि शक्तिबीचको एकता र सहकार्य आवश्यक-प्रचण्ड

 नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताएका छन्।

शुभकामना दिँदै उनले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबिचको एकता र गणतान्त्रिक शक्तिबिचको सहकार्य अपरिहार्य रहेको बताए ।

पूर्वप्रधानमन्त्री दाहालले गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको कार्यान्वयन गरेर फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रूपान्तरण गर्ने कार्यभार पूरा गर्नेतर्फ दलहरूको ध्यान जानुपर्ने बताए । “माओवादीको सचेत पहल र आमउत्पीडित जनसमुदायको सहभागितामा सञ्चालित जनयुद्धको जग तथा अन्य गणतान्त्रिक शक्तिको समेत सहकार्यमा भएको ऐतिहासिक जनआन्दोलनको बलबाट गणतन्त्र स्थापना भएको हो,” उनले भने, “गणतन्त्रवादी यथास्थिति र प्रतिगामी हर्कतका विरुद्ध सङ्घर्ष गर्दै गणतन्त्र र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनुपर्छ ।”

जन मेडिया